कांग्रेस १ नम्बर प्रदेश अधिवेशनमा मतदान अझै सुरु हुन सकेन

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिवार १ नम्बर प्रदेश अधिवेशनमा मतदान अझै सुरु हुन सकेको छैन । निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएपछि विवाद हुँदा मतदान तोकिएको समयमा हुन नसेको हो । प्रदेश सदस्य पदमा उम्मेदवारी दिनुभएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको छ ।
खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराउनु भएको थियो ।  नाम छुटेका तीनै जनाले हिजो मनोनयन दर्ता गराउनु भएको थियो ।
निर्वाचन समितिका निर्वाचन अधिकृत भरत थापाले प्राविधिक कारणले नाम छुटेको बताउनु भएको छ ।  छुटेका उम्मेदवारको नामसहित मतपत्र पुनः छाप्नुपर्ने भएकाले केही ढिला भएको उहाँले बताउनु भएको छ ।  अब चाँडै मतदान थाल्ने समेत उहाँले बताउनु भयो ।
मतदान ८ बजेदेखि गर्ने निर्वाचन कार्य तालिका रहेको थियो । मतदान स्थलमा केही मतदाता तथा उम्मेदवार मात्रै देखिएका छन् । संस्थापन समूहबाट उद्धव थापा र इतर समूह गुरुराज घिमिरे प्यानल सहित प्रतिस्पर्धामा उत्रिनु भएको छ ।

Back to top button