कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा मतदान जारी कर्णालीमा केहिबेरपछि शुरु हुने

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान भइरहेको छ । नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी मध्यान्नदेखि मतदान शुरु भएको हो ।

भैरहवास्थित महेन्द्र सभागृहमा जारी मतदानमा लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापनइतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

संस्थापन पक्षबाट संघिय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल छ भने संस्थापनइतरबाट संविधानसभा सदस्य तथा रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुन नेतृत्वको प्यानल छ ।

उता कर्णाली प्रदेशमा निर्वाचन कार्यतालिका अनुसार मतदान प्रक्रिया केहिबेर पछि शुरु हुने भएको छ । मध्यान्न १२ बजेदेखि शुरु हुने भनिएको मतदान कार्यक्रम केहि ढिलो गरि केहिबेरपछि शुरु हुन लागेको हो ।

उम्मेदवारहरूलाई मतपत्र डिजाइनका लागि बोलाइएको समयभन्दा ढिलो उपस्थित भएकोले मतदान प्रक्रिया ढिलो हुन पुगेको हो ।

Back to top button