कांग्रेस प्रदेश अधिवेशन : प्रदेश १ मा सुरु भयो मतदान

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत १ नम्बर प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएपछि विवाद हुँदा मतदान तोकिएको समयमा हुन सकेन ।

प्रदेश सदस्य पदमा उम्मेदवारी दिनुभएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद भएको थियो । विवादका कारण मतदान प्रक्रिया प्रभावित हुन पुगेको हो ।

खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराउनु भएको थियो ।  नाम छुटेका तीनै जनाले हिजो मनोनयन दर्ता गराउनु भएको थियो ।

निर्वाचन समितिका निर्वाचन अधिकृत भरत थापाले प्राविधिक कारणले नाम छुटेको र छुटेका उम्मेदवारको नामसहित मतपत्र पुनः छाप्नुपर्ने भएकाले केही ढिला भएको बताउनुभयो । मतदान ८ बजेदेखि गर्ने निर्वाचन कार्य तालिका रहेको थियो ।

संस्थापन समूहबाट उद्धव थापा र इतर समूहबाट गुरुराज घिमिरे प्यानलसहित प्रतिस्पर्धामा उत्रिनु भएको छ ।

Back to top button