संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिवद्ध छ :भट्टराई

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएको भट्टराईले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दावी समेत गर्नु भयो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित हुनेगरी संविधान संशोधन गर्न एकतावद्ध भएर अघि बढन पनि आह्वान गर्नु भयो ।

अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरालाई आफ्नो पार्टीले संसदमा कुरा उठाईराखेको र मन्त्रीपरिषदमा पनि सरकारमा सहभागी मन्त्रीमार्फत् सो प्रस्ताव पेश गर्न लगाउने आश्वासन समेत दिनुभयो ।

उहाँले भन्नुभयो , ‘फेरी पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन । अहिले संसदबाट मात्रै सबैथोक होस भनेर मात्रै हुँदैन । सांकेतिक हुन्छ । किनभने हामी संसदबाट पनि बोलिराखेका छौं । सडकबाट पनि बोलकै छौं । र सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छौँ । शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन । त्यसो गर्नका निम्ति अव हामीले चाँही एक ढिक्का भएर अगाडि बढौं । त्यसका निम्ति जनता समाजवादी पार्टी प्रतिवद्ध छ ।’

Back to top button