
विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो भएको मतदानमा मतगणना प्रदेश १ मा अझै सुरु हुन सकेको छैन ।
नेपाली कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजे देखी शुरु हुने भनिएको गणना अझै सुरु हुन नसकेको हो । उम्मेदवार तथा पार्टीका नेताहरु मतगणनास्थलमा ढिलो आउँदा तोकिएकै समयमा शुरु गर्न नसकिएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताउनुभयो । अहिले भने मुचुल्का तयार पार्ने काम अघि बढेको बताइएको छ ।
प्रदेश १ मा १७५२ मत खसेको छ । प्रदेशमा १८०४ मतदाता रहेका थिए । प्रदेश १ मा संस्थापन समूहका उद्धव थापा र इतर समूहका गुरुराज घिमिरे बिच प्रतिष्पर्धा भएको छ । दुवै समूह प्यानलसहित निर्वाचनमा छन् ।
संस्थापन इतरको राम्रो पक्कड मानिएको प्रदेश १ मा संस्थापन पक्षले भने नेता कृष्ण प्रसाद सिटौलाको साथ खोजेको थियो । थापा सिटौला समूहका हुनुहुन्छ ।
निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएर विवाद हुँदा मतदानको प्रकृया समेत ढिलो शुरु भएको थियो ।