छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । सुनसरी, लमजुङ, तनहुँ, दाङ र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित सडकमा को१ख ४९८८ नम्बरको बसले को१ख ६३७५ नम्बरको ट्रकलाई हिजो दिउँसो ठक्कर दिँदा बसका सहचालक सिरहा धनगढी नगरपालिका–८ बस्ने २५ वर्षीय जिवस यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका यादवको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, लमजुङ, बेशिसहर नगरपालिका–२ भकुण्डेस्थित सडकमा ना३५ प १८०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–८ बस्ने भारत घर भएका ४५ वर्षीय सिउ नारायण पट्टेलको हिजो साँझ नै मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते पट्टेलको जिल्ला अस्पताल बेशिसहरमा उपचारको क्रममा मृत्यु भएको हो।

तनहुँ, व्यास नगरपालिका–१ जुगेपानीस्थित सडकमा ग१त ६२८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई हिजो साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने २० वर्षीय अमृत नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, दाङ, तुलसीपुर उपमहानगरपालिका–१२ स्थित सडकमा रा१ह २९११ नम्बरको अटो अनियन्त्रित भई हिजो राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय गंगाराम केसीको मृत्यु भएको छ। दुर्घटनमा गम्भीर घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै दाङ, लमही नगरपालिका–६ बनघुर्सीस्थित सडकमा रा१ख १७७७ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राम चरण चौधरीको हिजो बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका–२ बांणीस्थित सडकमा डीएल १ जेडसी ४७५४ नम्बरको भारतीय कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय तारा नाथको हिजो बिहान घटनास्थलमै मृत्यु भएको छ। कार नियन्त्रणमा लिएर हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

Back to top button