कांग्रेस प्रदेश अधिवेशन : ५ घण्टा ढिलो गरि मतगणना शुरु

इन्द्र शर्मा,

विराटनगर । नेपाली काङ्ग्रेस प्रदेश १ को मतगणना ५ घण्टा ढिलो गरी सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानको आज दिउँसोबाट मतगणना सुरु भएको हो ।

निर्वाचन समितिका अधिकृत भरत थापाका अनुसार दिउँसो १ बजेपछि मतगणना सुरु भएको हो । आज बिहान ८ बजेबाट मतगणना सुरु गर्ने तयारी थियो । तर उम्मेदवारका प्रतिनिधि ढिलो आएपछि दिउँसो १ बजेपछि मतगणना सुरु भएको हो ।

प्रदेश १ अधिवेशनमा काङ्ग्रेसको संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापा सभापतिका उम्मेदवार हुनुहुन्छ । शनिबार मतदान पनि साढे ६ घण्टा ढिलो सुरु भएको थियो ।

बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि विवादका कारण साढे ६ घण्टा ढिलो दिउँसो २ः३० बजेबाट सुरु भएको थियो । निर्वाचनमा १ हजार ७ सय ५३ मत खसेको थियो । प्रदेश १ अधिवेशनमा काङ्ग्रेसका १ हजार ८ सय ५ जना मतदाता प्रतिनिधि थिए । ५२ जना प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित भए ।

Back to top button