७२ अंक घटेर बन्द भयो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७२ अंकले घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ठूलो अंकको गिरावट आएको हो ।

यस्तै कारोबार सुरू भएदेखि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक आज समग्रमा २ दशमलव ९० प्रतिशतले घटेको छ । यसक्रममा चार अर्ब ९ करोड रुपैयाँ बराबरका ८९ लाख २० हजार कित्ता सेयर किनबेच भएका छन् ।

मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर बजारमा ४ र १२ करोडको नीति ल्याएपछि नेप्से निरन्तर ओरालो गतिमा छ । खासगरी, राष्ट्र बैंकले एक जना लगानीकर्ताले सेयर धितोमा ३ वटा बैंकबाट बढीमा १२ करोड रुपैयाँ ऋण लिन पाउने व्यवस्था गरेपछि बजार ओरालो लाग्न सुरु गरेको थियो ।

यस्तै मौद्रिक नीति समीक्षा गर्दै राष्ट्र बैंकले पुरानै व्यवस्था कायम राखेपछि बजार थप ओरालो लाग्न थालेको छ । आज ७२ अंकले घटेपछि नेप्से परिसूचक २५ सय १३ अंकमा आइपुगेको छ । समग्र बजार घटेको दिन आज कारोबार भएका १३ मध्ये सबै समूह घटेका छन् ।

आज न्यादी हाइड्रोपावर लिमिटेडको सेयर लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ४५४ रुपैयाँ पुगेपछि लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका हुन् ।

यस्तै, आज आईसीएफसी फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी प्रतिकित्ता ८ प्रतिशतले घटेको छ ।

Back to top button