कांग्रेस प्रदेश अधिवेशन : प्रदेश नं २ मा अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रकृया अन्योलमा छ । केन्द्रीय निर्वाचन समितिबाट हालसम्म सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो ।

यस्तै प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रह्लाद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन नसकेको हो ।

मतदाता नामावली प्रकाशन हुन नसक्दा अन्य निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको अधिकृत गौतमले जानकारी दिनुभयो । सर्लाहीका चार, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नं ४ र रौतहटको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन ।

प्रदेश २ को सबै जिल्लाका प्रतिनिधि छनोट भएपछि कूल मतदाता १ हजार ८ सय ८८ पुग्ने छन् । पार्टीको महाधिवेशनको २२ मंसिरमा नै रहेकाले प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछिका लागि सर्ने सम्भावना समेत बढ्दै गएको छ ।

निर्वाचन प्रक्रिया अन्योलमा परेपछि आज पार्टी उपसभापति विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताकाले छलफल पछि औपचारिक रुपमा निर्वाचन प्रक्रियाबारे सूचना जारी गर्ने निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

निर्वाचन अन्यौल रहेपनि यसअघि नै प्रदेश सभापतिका लागि भने रौतहटका कृष्णा यादव र प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

Back to top button