कांग्रेस इतर पक्ष केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । पार्टीको आगामी १४ औँ महाधिवेशनमा सभापति पदमा साझा उमेदवार तय गर्ने बारे छलफल गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको केन्द्रीय समिति बैठक बस्दै छ।

आज दिउँसो १ बजे बैठक बस्ने तयारी भएको छ । यसअघि हिजो पनि संस्थापन इतर समूहका नेताले यसै बिषयमा छलफल गरेका थिए। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा भएको छलफल सकरात्मक भएकाले आज संस्थापन इतर समूहको केन्द्रिय समिति बैठकमा छलफल गर्न लागिएको हो।

हिजो नेता पौडेलसहित, नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच छलफल भएको थियो। तीन जना नेताको सहमतिमा आज संस्थापन इतर समूहका नेताको केन्द्रीय समिति बैठक आह्वान गरिएको हो।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर २४ गतेदेखि सुरु हुँदैछ। महाधिवेशनमा सभापति पदको लागि सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिने तयारी गरिरहँदा संस्थापन इतर समूहले पनि सभापतिको साझा उमेदवार उठाउने प्रयास गरेको छ।

संस्थापन इतर समूहले साझा उम्मेदवार उठाउन प्रयास गरेपनि धेरै नेताहरु आकांक्षी देखिदा मुस्किल हुने देखिएको छ। सभापति देउवाले सिटौला समूहलाई पनि आफुलाई सभापति पदमा सहयोग गर्न आग्रह गर्नुृभएको छ । देउवाले अन्य समूहलाई पनि सहयोगका लागि आग्रह गर्नुभएको छ ।

Back to top button