
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीमा मिश्रित नतिजा आएको छ।
हिजो राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेशको पदाधिकारीमा सभापतिमा निर्वाचित इन्द्रबहादुर बानियाँ र पराजित जगदिश नरसिंह केसी प्यानलका आधा–आधा उम्मेदवार पदाधिकारीमा विजयी हुनुभएको हो ।
यसर्थ उपसभापतिमा केसी प्यानलका मोहन बस्नेत र बानियाँ प्यानलका चन्द्र महर्जन विजयी हुनुभएको छ । बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी हुनुभएको हो ।
उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित हुनुभयो ।
यस्तै महामन्त्रीमा केसी प्यानलका कन्चनचन्द्र बादे र बानियाँ प्यानलका राजु श्रेष्ठ विजयी हुनुभएको छ । यस पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो।
महिलातर्फको सहमहामन्त्रीमा केसी प्यानलका जीवन डङ्गोल विजयी हुनुभयो । उहाँले बानियाँ प्यानलका निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङलाई पराजित गर्नुभएको थियो ।
यस्तै खुल्लातर्फको दुई सहमहामन्त्रीमा पनि दुई प्यानलबाट एक–एकजना विजयी भए। केसी प्यानलबाट ऋषिराम घिमिरे र बानियाँ प्यानलबाट हरिशरण श्रेष्ठ सहमहामन्त्रीमा विजयी हुनुभएको छ।
उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो। जसमा वीरबहादुर तामाङ, महेन्द्र थिङ, राजकुमार पाठक, जगन्नाथ धिमाल र जयनारायण सापकोटा पराजित हुनुभएको छ । कांग्रेस बागमतीको सभापतिमा भने इन्द्रबहादुर बानियाँ विजयी हुनुभयो ।
पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणाको मतदानमा बानियाँले केसीलाई पराजित गर्नुभएको थियो । दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका भीमसेनदास प्रधानको समर्थनपछि बानियाँ पहिलो बागमती प्रदेश सभापति बन्न सफल हुनुभएको हो ।