हुम्लामा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध

हुम्ला । हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। सेवाग्राही लोग भण्डारीले गत आइतबार बिहानबाट नेपाल टेलिकमका सबै सेवाले काम नगरेको बताउनुभयो ।

उहाँले टेलिकमको मोबाइल, एडिएसल, फोर जी र ल्याण्डलाइन सेवा सबै अवरुद्ध भएको जानकारी दिनुभएको हो । यस्तै नेपाल टेलिकम हुम्ला शाखाका लाइनम्यान रामबहादुर बोहराले खराबी आएको स्थान नै पत्ता लगाउन नसकिएको बताउनुभयो ।

केन्द्रमा सम्पर्क गर्ने माध्यम नभएको कारण खराबी भएको स्थान पत्ता लगाउन नसकिएको उहाँको भनाई छ । शाखाकै कार्यालय हातामा रहेको टावर, किरिने टावर, जुम्ला र कालीकोट कताको उपकरणमा खराबी आएको भन्नेबारे पत्ता लगाउनै नसकिएको टेलिकमले जनाएको छ।

यसैगरी सेवा अवरुद्ध भएपछि सरकार तथा गैरसरकारी कार्यालयबाट प्रदान हुने सेवामा बाधा पुगेका कारण बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न समेत समस्या भएको छ। टेलिकमको सेवा अवरुद्ध भएको बेला एनसेलको मोबाइल सेवाले पनि राम्रोसँग काम गरिरहेको छैन।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले इन्टरनेटका लागि सेवा प्रदान गर्दै आएको वर्ल्डलिंक कम्युनिकेशनको सेवा पनि निकै सुस्त भएको कारण सेवाग्राही मर्कामा परेको बताउनुभयो । तीनदिन अघिबाटै अनलाइनबाट गर्नुपर्ने कार्य कुनै पनि गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।

Back to top button