
काठमाडौं । नेकपा माओवादी केन्द्रको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरूले खाने बस्ने व्यवस्था आफैंले गर्नुपर्ने भएको छ।
माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने सम्मेलनमा सहभागी प्रतिनिधिहरूले खाने, बस्नेलगायतका खर्चको व्यवस्थापन आफैं गर्नुपर्ने परिपत्र गरेको छ।
माओवादीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवं प्रतिनिधिहरूलाई प्रतिनिधि शुल्क दुई हजार तोकेको छ। पार्टीको मंसिर १६–१७ गते बसेको स्थायी कमिटीको बैठकले प्रतिनिधिहरूको सबै व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशको हुने निर्णय गरेको परिपत्रमा उल्लेख छ।
राष्ट्रिय सम्मेलनका लागि माओवादीले वडा र पालिका सम्मेलन गरिसकेको छ भने मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ। सम्मेलनमा करिब १ हजार ५ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ।
प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गरिने तथा एक हजार पाँच सय संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने सो पार्टीले जनाएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको आन्तरिक परिपत्रअनुसार प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते र अपांगता भएकालाई प्रतिनिधि चयन गर्नुपर्ने छ।
केन्द्रीय सदस्यहरू स्वतः सम्मेलनका प्रतिनिधि हुनेछन् भने प्रत्येक केन्द्रीय विभागबाट ३/३ जना प्रतिनिधि छानिने व्यवस्था गरिएको छ । त्यस्तै केन्द्रीय कार्यालयबाट पाँच प्रतिशत प्रतिनिधि मनोनीत गर्ने प्रावधान राखिएको छ ।