कक्षा १२ को प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै पाइने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को प्रमाणपत्र स्कुलबाट दिने व्यवस्था मिलाएको छ । कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै यसपालि पनि बोर्डले विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयबाटै प्रमाणपत्र वितरण गर्न लागेको हो ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले यो वर्ष पनि विद्यार्थी बोर्डसम्म धाउनुनपर्ने भन्दै सम्बन्धित विद्यालयबाट नै विद्यार्थीले प्रमाणपत्र लिन सक्ने बताउनुभयो । उहाँका अनुसार नतिजा प्रकाशित भएको एक हप्तामा सबै शैक्षिक प्रमाणपत्र विद्यार्थीले पाउनेछन्।

यसका लागि दस्तुर पनि सम्बन्धित विद्यालयमा नै बुझाउन सकिनेछ। गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भइसकेको छ।

बोर्डका सदस्यसचिव अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्। ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन्।

त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन्। बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन्। ७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् । २४ हजार ५ सय १५ जनाले सी र ३ हजार ८ सय ७५ परीक्षार्थीले डी प्लस ल्याएका छन् । २ सय ९६ले डी र १० हजार ७३ परीक्षार्थीले ई ल्याएका छन्।

Back to top button