एमाले सन्दकपुर गाउँ कमिटीको बैठक जंगे पिलरमा

इलाम । भारतीय पक्षबाट पटक –पटक भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै नेकपा एमाले सन्दकपुर गाउँ पार्टी कमिटीले जंगे पिलरमा बैठक गरेको छ । इलामको सन्दपुर गाउँपालिका –५ जौबारीमा रहेको ६३ ९१५० नम्बरको पिलरमा बैठक गरेको हो ।

बैठकले भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणको भत्सर्ना गर्दै वार्ता टोली बनाएर यथाशीघ्र सीमा क्षेत्रमा देखिएको समस्या समाधानको लागि संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।

इलामको पशुपतिनगर–२ मा भारतीय पक्षले दशजगाभित्रै गुम्बा बनाएको छ । नेपाली पक्षको विरोधको बाबजुद पक्की संरचनाको एकतले टाँसी छोइलिङ गुम्बा बनाएको हो । पुरानो गुम्बा मर्मत गर्ने नाममा भारतले दशगजाभित्रै गुम्बा बनाएको हो । भारतले दशगजामै संरचना बनाउने गरे पनि नेपालतर्फ भने दशगजाभन्दा बाहिर संरचना बनाउँदासमेत अवरोध गर्ने गरेको छ ।

इलामको सन्दकपुरमा पर्यटन प्रवर्द्धनका लागि प्रदेश १ सरकारले भ्युटावर निर्माण थालेको थियो । भ्युटावर बनाउन थालिएको ठाउँ दशगजाभित्र पर्ने भन्दै भारतीय सीमा सुरक्षा बलले अवरोध गर्‍यो । भारतीय सीमा सुरक्षा बलले निर्माण कार्यमा अवरोध गरेपछि टावर बन्न सकेको छैन ।

भारतीय टोलीले सरकारी योजना मात्रै होइन । निजी क्षेत्रले घर, शौचालय बनाउनसमेत अवरोध गर्ने गरेको छ । सन्दकपुर गाउँपालिका–५ कैयाकट्टामा दशगजाभन्दा ४५ मिटरभित्र स्थानीय यादिकी शेर्पालाई घर बनाउन भारतीय सीमा सुरक्षा बल एसएसबीले त्यही आएर रोकेको थियो । घर बनाउन रोक लगाएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि एसएसबी पछि हट्यो । त्यसपछि शेर्पाले घर बनाउनु भएको थियो ।

यस्तै कालपोखरी बजारमा शौचालय निर्माण पनि रोकेको थियो । एसएसबीले सीमा क्षेत्रमा गाडिएका पिलरसमेत सार्ने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन्

एमालेको बैठकमा केन्द्रीय सदस्य राम राना र एमाले इलामका अध्यक्ष महेश बस्नेत पनि सहभागी हुनु भएको थियो। । केन्द्रीय सदस्य रानाले राष्ट्रियता र मुलुकको अखण्डता बचाइराख्ने एमालेको अभियानअन्तर्गत सीमा क्षेत्रमा बैठक राखिएको बताए । उनले एमाले राष्ट्रियता र मुलुकको अखण्डताको पक्षमा दह्रो गरी उभिएकाले देशी विदेशी शक्तिले एमालेमाथि आक्रमण गरिरहेको दाबी गर्नु भयो ।

एमाले इलामका अध्यक्ष महेश बस्नेतले पार्टीको सरकारकै बेला लिम्पियाधुरा लिपुलेकसहितको नक्सा जारी भएकाले अतिक्रमित भूमि फर्ता गर्न लाग्नुपर्नेमा जोड दिनुभयो।

Back to top button