आफ्नो प्यानलबाट पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाउन देउवा पक्षको बैठक बस्दै

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नो प्यानलबाट पदाधिकारीमा लड्ने उम्मेदवारको नाम टुंगो लगाउन बैठक बोलाउनु भएको छ । देउवाले बुधबार बिहानका लागि बैठक बोलाउनु भएको सहमहामन्त्री प्रकाशशरण महतले बताउनु भयो ।

बुधबारको बैठकमा आकांक्षीहरुमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा उम्मेदवारको टुंगो लगाउने बताइएको । सभापतिमा देउवाले यसअघि नै उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।
काँग्रेसको महाधिवेशन मंसिर २४ देखि सुरु हुने भएपछि देउवाले आफ्नो प्यानललाई अन्तिम रुप दिन लाग्नु भएको छ ।

यसैबीच संस्थापन इतर समूहले भने हालसम्म सभापतिको साझा उम्मेदवार समेत तय गर्न सकेको छैन । इतर समूहले बुधबार साँझसम्म साझा उम्मेदवार तय गरिने दावी गरेको छ भने त्यसका लागि सहमतिको वातावरण बन्दै गएको नेताहरुको भनाइ छ ।

Back to top button