
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक मंसिर २५ र २६ गतेका लागि बोलाइएको छ । एमालेको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकको लागि १५ वटा एजेण्डा तय भएका केन्द्रीय कार्यालय सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताउनु भयो ।
दशौं महाधिवेशनबाट निर्वाचित भएका तर शपथ ग्रहण गर्न बाँकी रहेका सदस्यलाई दोस्रो बैठकमा शपथ ग्रहण गराउने एजेण्डा एमालेले तय गरेको छ ।बैठकमा महाधिवेशनको सामान्य समीक्षा गर्ने, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन गर्ने एजेण्डा पनि तय भएको छ । १० प्रतिशत केन्द्रीय सदस्य केन्द्रीय कमिटीले मनोनयन गर्ने एमाले विधानको व्यवस्था छ । एमालेको आगामी केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्युरो र ४५ सदस्यीय स्थायी कमिटीको गठन गर्ने तयारी गरेको छ ।
केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने र नेताहरूको कार्यविभाजन गर्ने एजेण्डा पनि बैठकको लागि तय भएको तामाङले बताउनु भयो ।प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापनलाई पनि बैठकको एजेण्डा बनाइएको छ । एमालेको बैठक जर्मन हाउस हस्पिटालिटी गट्ठाघरमा बस्ने गरी बोलाइएको छ । बैठक मंसिर २५ गते बिहान ११ बजे शुरू हुने तामाङले जानकारी दिनु भयो ।