आर्थिक बृद्धिदर ७ प्रतिशत नै हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल हुने बताउनुभएको छ । प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै उहाँले यस्तो दावी गर्नुभएको हो ।

जलवायु परिवर्तनले धेरै चुनौती दिएको बताउँदै उहाँले भन्नुभयो,‘बेमौसमी वर्षाका कारण खर्बौंको क्षति भयो, तरपनि आर्थिक वृद्धिदरको लक्ष्य भेटिने छ ।’

अहिले बैंकिङ क्षेत्रमा १६ अर्ब मात्रै लगानी योग्य रकम (तरलता) रहेको भन्दै उहाँले तरलताको समस्या भने रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेपनि समस्या समाधान भइनसकेको जानकारी गराउनुभयो ।

यस्तै उहाँले पुँजीगत खर्च नहुनु पनि एउटा कमजोरी भएको औल्याउँदै समग्रमा भने सरकारी खर्च गत वर्षको भन्दा २ प्रतिशतले बढी रहेको बताउनुभयो । सरकार परिवर्तनपछि अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनुभएको थियो ।

प्रतिस्थापन बजेट ल्याउने प्रक्रिया, नीतिगत प्रक्रिया लगायतमा समय लागेका कारण खर्च हुन केही ढिलाइ भएको उहाँले प्रष्ट्याउनुभयो । तर अब रफ्तारमा पुँजीगत खर्च हुने अर्थमन्त्री शर्माले दावी गर्नुभयो ।

राष्ट्र बैंकले गैर आवासीय नेपालीले डलरमा बचत खाता खोल्न पाउने व्यवस्था गरेको भन्दै यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो ।

Back to top button