पुबुदुलाई नै पुनः क्रिकेटको मुख्यप्रशिक्षक बनाउने तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंकाका पूर्व क्रिकेटर पुबुदु दासानायकेलाई नै पुनः मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ । क्यान स्रोतका अनुसार नेपालका पूर्व मुख्य प्रशिक्षकसमेत रहेका दासानायकेलाई नै राष्ट्रिय टोलीको जिम्मा दिन लागिएको हो ।

दासानायकेलाई चाँडै नियुक्ति गर्ने सम्भावना रहेको स्रोतको दावी छ । नेपालले सन् २०२२ को सुरुआतमै आईसीसी टीट्वेन्टी विश्वकप छनोट खेल्ने तालिका छ । त्यही कारण जतिसक्दो चाँडो मुख्य प्रशिक्षक नियुक्ति गर्ने अभियानमा क्यान लागेको छ।

क्यानले मुख्य प्रशिक्षकको लागि खुला आवेदन मागेको थियो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका थिए । क्यानले उत्कृष्ट १५ जनाको अन्तर्वार्ता पनि लिएको थियो ।

यसअघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टीट्वेन्टी विश्वकप खेलेको थियो ।

पुबुदुको प्रशिक्षणमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो । गत असोजमा भएको एभरेष्ट प्रिमियर लिगमा पुबुदुले भैरहवा ग्ल्याडियटर्सको प्रशिक्षकका रुपमा पनि काम गर्नुभएको थियो । २०१५ मा नेपाली क्रिकेटको आन्तरिक किचलोको कारण देखाउँदै पुबुदु प्रशिक्षक छाडेर अमेरिका जानुभएको थियो ।

मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि नेपाल क्रिकेट मुख्य प्रशिक्षकविहीन छ । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृंखलापछि वाटमोरले राजीनामा दिनुभएको थियो ।

Back to top button