प्रदेश १ मा अध्यक्षका लागि माओवादीका तीन जनाको दाबेदारी

इन्द्र शर्मा,

विराटनगर । नेकपा माओवादी केन्द्रले सातवटै प्रदेशमा मंसिर २५ गते प्रदेश अधिवेशन गर्दैछ । प्रदेश १ अध्यक्षका लागि तीन जना आकांक्षी देखीएका छन् ।

वर्तमान अध्यक्ष सुरेशकुमार राई (हिमाल), प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्वो (मौसम) र प्रदेश सचिव हेमराज भण्डारी अध्यक्षका आकांक्षी हुनुहुन्छ ।

पटक–पटक माओवादी फुट्दा समेत साथ दिँदै आउनुभएका वर्तमान प्रदेश अध्यक्ष राईले सहमतिका लागि प्रयास भइरहेको बताउनुभएको छ । उहाँले अहिले नै उम्मेदवारी घोषणा नगरेपनि बहुमत प्रतिनिधिहरुले उठ्न भन्न थालेको बताउनुभएको छ ।

उदयपुरबाट संघीय सांसद बन्नुभएका राईको जनाधार समेत राम्रो रहेकाले उहाँलाई अध्यक्ष बनाउने प्रचण्डको तयारी रहेको माओवादीकै नेताहरुको भनाई छ । पार्टी भित्र संकट आउँदा प्रचण्डलाई साथ दिएका कारण उहाँलाई अध्यक्ष बनाउनका लागि प्रचण्डनै लागेको उहाँ निकट स्रोतले जनाएको छ ।

युवाहरुमा लोकप्रिय मानिएका युवा नेता आङ्वो नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेता हुनुहुन्छ । प्रदेश १ को राजनितिक खेलाडीका रुपमा देखिनुभएका आङ्वो नेकपा एकिकृत समाजवादीमा जानका लागि एमालेका सांसदलाई विभिन्न प्रलोभन देखाएर हस्ताक्षर गराउने भूमिकामा समेत सक्रिय रहनुभएको थियो ।

माओवादी फुट्दा मोहन बैध तिर लाग्नुभएका आङ्वो रामबहादुर थापा ‘बादल’ निकट मानिनुहुन्थ्यो । बादल एमालेमै बसेपछि उहाँ भने माओवादीमै बस्नुभएको थियो ।

केन्द्रीय सदस्य तथा पाँचथरका इन्चार्ज रहनुभएका आङ्वोले प्रदेशको पदाधिकारीका लागि यसअघि नै बल गर्नुभएको थियो । उहाँले केहि समय अघि प्रचण्डलाई भेटेर नै आफु अध्यक्षमा उठ्ने बताउनुभएको थियो । यद्यपी प्रचण्डले ग्रिन सिग्नल भने दिइनसकेको स्रोतले बताएको छ ।

वर्तमान सचिव रहनु भएका भण्डारी पनि अध्यक्षको उमेदवारको लाइनमा हुनुहुन्छ । धनकुटाका भण्डारी संविधान सभा सदस्य हुनुहुन्छ । बैचारीक बहसमा खरो मानिने भण्डारीको पक्षमा जनलहर नभएको माओवादी केन्द्र स्तरका एक नेताले बताए । माओवादीबाट जितेका जनप्रतिनिधिहरु रोक्न नसकेको आरोप खेप्नुपरेका भण्डारीसँग धनकुटामा पार्टी कमजोर भएपछि पार्टी अध्यक्ष प्रचण्ड समेत रुष्ट बनेको स्रोतले जनाएको छ ।

प्रदेश अधिवेशनमा माओवादी केन्द्रले पार्टीले अहिलेसम्म गरेका काम तथा रानजैतिक सांगठानिक ‘डकुमेन्ट्री’ पेश गर्ने तयारी गरेको छ । जसका लागि माओवादीका नेता राम कार्की, सुरेस राईले त्यसको तयारी गरिरहनुभएको छ । भने आङवोले छुट्टै ‘डकुमेन्ट्री’ बनाइरहनु भएको छ ।

पार्टीको आगामी प्रमुख जिम्मेवारी र दायित्वमा रहेको राष्ट्रिय पुँजिको विकास, विकास र समृद्धिको मोडेलसहित समाजवादको आधार तयार गर्न प्रदेशको भूमिका बारे १ नं प्रदेशको अर्थ–राजनैतिक बिषयमा अर्थशास्त्री र बिज्ञ सम्मिलित टोलिले तयार पारीरहेको आङ्वोले बताउनुभयो । यता प्रदेश कमिटीका अध्यक्ष राइले भने आङ्वोले बनाएको बिषय पार्टीलाई जानकारी नभएको प्रतिकृया दिनुभएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएपनि छुट्टा छुट्टै ‘डकुमेन्ट्री’ प्रस्तुत गर्ने तयारी भएकाले सहमतिको सम्भावना कम हुँदै गएको नेताहरुको बुझाई छ । प्रदेश १ मा १ हजार १ सय ५० प्रतिनिधि सहभागि हुने बताइएको छ । मोरङको विराटचोकमा हुने प्रदेश अधिवेशनको उद्घाटन अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने जनाइएको छ ।

यसैबिच प्रदेश अधिवेशनको तयारी समेत पूरा भएको नेकपा माओवादी प्रदेश कमिटीले जनाएको छ ।

Back to top button