कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज, सम्पूर्ण तयारी पूरा

काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज हुँदैछ। दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ।

उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिनुभयो । कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका भन्दा बाहिरबाट सहभागी नबोलाइएको भन्दै उहाँले महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त आउने सहभागीहरुमात्र उद्घाट्नमा सहभागि हुने बताउनुभयो ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरु, विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको उपस्थिति हुने बताइएको छ। सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँचवटा डिस्प्ले राखिएको छ ।

सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ। उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ। सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टमको व्यवस्था गरिएको छ ।

विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ भने उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ। यस महाधिवेशनमा चार हजार ७ सय महाधिवेशन प्रतिनिधि रहने छन्।

अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको र उनीहरुका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहितको झोला वितरण गर्ने काम हिजोदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकिएको पार्टी कार्यालयले जनाएको छ।  महाधिवेशन प्रतिनिधिहरुका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा र बासका लागि सुन्धाराका विभिन्न होटलमा व्यवस्था मिलाइएको छ ।

यसैगरी बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार गरिएको छ । हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ। महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ।

यसैगरी पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर आज बिहान १० बजे हुनेछ। उम्मेदवार मनोनयन दर्ता मङ्सिर भोली बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभएको छ ।

सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ। सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ।

सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ।

सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुने तयारी गरिएको छ। कांग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ। मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ।

Back to top button