‘दोषि को’ ? देखाउँदै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका ३ स्थानमा कचहरी नाटक ‘दोषी को ?’ को प्रदर्शन सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ ।

वडा नम्बर १ स्थित पथरी बजारको यलम्बर चोकमा आयोजित समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले लैङ्गिक हिंसा अन्त्यका लागि सवैले आ–आफ्नो घरबाट पहल गर्नुपर्ने बताउनु भयो ।

लैङ्गिक हिंसा अन्तर्गत पनि सार्वजनिक यातायात, सार्वजनिकस्थल, सामाजिक सञ्जालमा हुने गरेको महिला हिंसालाई नाटकले उजागर गरेको थियो । यस्तै शिक्षण संस्थाहरुमा पनि नजानिदो गरी छात्राहरुमाथि हिंसा हुने गरेको कुरा नाटकले प्रस्तुत गरेको थियो ।

पथरीशनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा नगरस्थित महिला फेडेरेशनले आयोजना तथा ओरेक नेपालको संयोजनको कार्यक्रममा शब्द थिएटरका कलाकारहरुको प्रस्तुति रहेको थियो । नाटकमा जनप्रतिनिधि, सामाजिक अगुवा, विद्यालय विद्यार्थी, शिक्षक, सुरक्षाकर्मीसहितका दर्शकहरुले आफुहरुलाई सक्रिय सहभागिता जनाई हिंसा अन्त्य गर्ने बारेमा कचहरी गरेका थिए ।

भूपेन्द्रराज तिम्सिनाको लेखन, जीवन बरालको निर्देशनमा प्रस्तुत नाटकमा तिम्सिना, बरालका साथै सुमन कुइकेल बराल, मेनुका कुलुङ, लीला कुलुङ, इश्वर दुलाल, विमला पोखरेल, प्रेम खतिवडा र नविन गुरुङको अभिनय रहेको छ । अभियान अन्तर्गत शनिश्चरे र हसन्दहमा पनि सो नाटक प्रभावकारी प्रदर्शन भएको थियो ।

समापन कार्यक्रममा नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले कार्यक्रमको औचित्य प्रष्ट्याउनु भएको थियो । ओरेक नेपाल विराटनगर कार्यक्रम अधिकृत गोमा भण्डारी, महिला फेडेरेशन नगर उपाध्यक्ष निर्मला राई, सचिव जानुका आचार्यसहितले लैङ्गिक हिंसा अन्त्यका लागि समाज सचेत र अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो ।

Back to top button