कांग्रेस महाधिवेशन :भिभीआइपी र भिआइपीका लागि छुट्टै रुट

काठमाडौं । नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनु भएको छ । उहाँ अनुसार उपत्यकाका तीनै जिल्लामा प्रहरीले आवश्यकतानुसार सुरक्षा सतर्कता बढाएको छ। थप टोलीसमेत खटाइएको छ।

मुख्यगरी महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा आज उपत्यकामा सुरक्षा प्रबन्ध गरिएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको जानकारी दिनुभयो ।
कार्यक्रमस्थलाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको र चक्रपथ तथा उपत्यका प्रवेश नाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको छ। कार्यक्रमस्थलको प्रवेश विन्दुमा प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
ठाउँठाउँमा सिसीक्यामेरा जडान गरिएको र त्यसको नियन्त्रण तथा अनुगमन महानगरीय प्रहरी कार्यालय र नगर प्रहरीले गर्ने गरी व्यवस्था मिलाइएको छ। प्रवक्ता राठौरका अनुसार ड्रोन क्यामेराको समेत प्रयोग गरेर निगरानी हुनेछ। प्रतिनिधि बस्ने सुन्धारा, ठमेललगायत ठाउँमा समेत चौबीसै घण्टा सुरक्षाकर्मी रहने गरी व्यवस्थापन गरिएको छ।

भिभीआइपी र भिआइपीको रुटमा छुट्टै सुरक्षा प्रबन्ध गरिएको छ। महाधिवेशन सुरक्षाका लागि सादा पोशाकमा पनि प्रहरी परिचालित हुनेछन् पैदल, मोबाइल गस्ती नियमित रहनेछन्। आवश्यक थप मद्दत टोलीसमेत व्यवस्थापन गरिएको छ।

Back to top button