मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर बिहीबार राति दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका र बूढीगंगा गाउँपालिकामा दुर्घटना हुँदा साइकल यात्री र स्कुटर चालकको मृत्यु भएको हो । विराटनगरमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा र बूढीगंगामा स्कुटर आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताउनु भयो ।

उहाँका विराटनगर–११ रामपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको साइकललाई को २ त ७१३९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकल यात्री विराटनगर–११ का ३४ वर्षीय मुन्ना सहनीको मृत्यु भएको हो । ओभरटेक गर्ने क्रममा ट्याक्टरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सहनीको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै कोसी लोकमार्गअन्तर्गत बूढीगंगा–२ मा आफैँ अनियन्त्रित भएको स्कुटर राति ८ बजेतिर सडकको बीच भागमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प ६४६० नम्बरको स्कुटर दुर्घटना हुँदा चालक मोरङको उर्लाबारी नगरपालिका–४ का २६ वर्षीय सुरज खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । खनलाको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

Back to top button