मन्त्री आलेले विराटनगर विमानस्थलको शौचालय अनुगमन गरेपछि…

इन्द्र शर्मा,

विराटनगर । पर्यटन नागरीक तथा उड्ययनमन्त्री प्रेम आलेले विराटनगर विमानस्थलमा आएर शौचालयको अनुगमन गर्नुभएको छ । विराटनगर विमानस्थलको अनुगमन गर्ने क्रममा उहाँले शौचालयको अनुगमन गर्नुभएको हो ।

विमानस्थल भित्र फोहोर देखेपछि उहाँ शौचालयको अनुगमन गर्न जानुभएको थियो । शौचालय अनुगमन गर्दै उहाँले कार्यालयलाई सफा राख्न निर्देशन दिनुभएको छ । यद्यपी मन्त्री आउने भएपछि बिहानै देखी कार्यालयको सरसफाइ गरीएको थियो ।

उहाँले फोहोर देखेपछि कर्मचारीहरुसँग रिसाँउदै कार्यालयको सौन्दर्यता बढाउन निर्देशन दिनुभएको थियो । मन्त्री आलेले विराटनगर विमानस्थलमा कन्भियर बेल्ट बनाउने आश्वासन समेत दिनुभयो ।

प्रदेशको राजधानीमा रहेको विमानस्थल ब्यस्त हुने गरेको र यात्रुहरुका झोलालगायतका अन्य सामाग्री दिँदा विभिन्न झन्झट ब्यहोर्नु परेको गुनासो कर्मचारीहरुले राख्नुभएको थियो । कर्मचारीको गुनासो सुनेपछि मन्त्री आलेले ‘कन्भियर बेल्ट’ बनाउने आश्वासन दिनुभएको हो । उहाँले स्टीमेट गरेर मन्त्रालय पठाउन समेत निर्देशन दिनुभयो ।

यस्तै विराटनगर विमास्थलमा संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री आलेले विराटनगर विमानस्थलको स्तर उन्नतीको काम गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न भन्दै ३ वटै तहका सरकारबीच सम्झौता भएको डेढ वर्ष बितिसक्दा पनि निर्माणको काम शुरू नभइरहेका बेला मन्त्री आलेले यस्तो आश्वासन दिनुभएको हो ।

२०७७ भदौ २० गते विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी ईन्द्रमणि पोखरेल, प्रदेश सरकारका तर्फबाट उद्योग, वन, वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र नागरिक उड्यन प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलले विमानस्थल स्तरोन्नति गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

तात्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, १ नम्बर प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शेरधन राई तथा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको उपस्थितिमा पत्रमा हस्ताक्षर गरिएको थियो । विमानस्थलको धावन मार्गको लम्बाइ ३ हजार मिटरसम्म विस्तार गर्ने सम्झौतामा उल्लेख छ ।

जग्गा अधिग्रहणमा हुने खर्चको ५०/५० प्रतिशत साझेदारी गर्ने गरी सम्झौता गरिएको थियो । संघीय सरकारले ५० प्रतिशत तथा प्रदेश र स्थानीय सरकारले ५० प्रतिशत खर्चको व्यवस्थापन गर्ने गरी सम्झौता भएको थियो ।

जसअन्तर्गत प्रदेश सरकारले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र नेपाल नागरिक उड्डयन प्राधिकरणले ५० प्रतिशत लागत साझेदारी गर्ने गरी सम्झौता भएको वर्षदिन भएको छ तर त्यसको प्रगति शून्य रहेको छ । सरकारले १२६ दशमलव ४६ बिगाहा जमिन अधिग्रहण गर्न जग्गा रोक्का समेत गरिसकेको छ । जग्गा रोक्का गरिए पनि मुआब्जा दिने विषय अगाडि बढेको छैन । मुआब्जा दिने रकमको जोहो नै नगरी सरकारले जग्गा रोक्का गरिदिए पछि पिडितहरु समेत आन्दोलन गरीरहेका छन् ।

मन्त्री आलेले स्तरोन्नती गर्ने कामको केहि दिन भित्रमै सुन्न पाउने बताउनुभयो । मन्त्री आलेले भने सोमवार बस्ने मन्त्रीपरिषदेको बैठकले बजेट छुट्याउने बताउनुभयो । पुर्वप्रधानमन्त्री समेत हरेका नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले विराटनगर, धनगढी र निजगढको कामका लागि बजेटको ब्यबस्थापन गर्न भन्नु भएकोले बजेटको ब्यबस्थापन हुने मन्त्री आलेले बताउनुभयो ।

Back to top button