माधव नेपालको पूर्वराजालाई सुझावः राजनितिक पार्टी खोले हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिनुभएको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा आज शुभकामना मन्तव्य राख्दै उहाँले नेपालको सङ्केत राम्रो नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ ।’ पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले प्रतिगामी तत्त्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न र नेपालमा पुनः राजतन्त्र फर्कन नसक्ने दाबी गर्नुभयो ।

‘प्रतिगामी तत्त्वहरूलाई भन्न चाहन्छु–फेरि टाउको उठाउने दुस्साहस नगर्नुस् । फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । नेपाली जनता ज्वालमुखीझैँ विस्फोटमा जाग्ने छन्’, नेता नेपालले पूर्व राजालाई सङ्केत गर्दै भन्नुभयो, ‘राजाले पनि पार्टी खोले हुन्छ । नत्र व्यापार गरे हुन्छ ।’ उहाँले नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्ने र लोकतन्त्रलाई सुदृढ गर्ने बताउनुभयो ।

Back to top button