देउवालाई ओलीको सुझावः प्रधानमन्त्री मात्र भएर हैन सरकारको नेता बन्नुहोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमात्र नभएर सरकारको नेता बन्न सुझाव दिनुभएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले सबैलाई साथ लिएर हिँडेमा आफ्नो आपत्ति नरहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तर, अरुका नीतिको पछाडि होइन, आफ्नो नीतिमा हिँडोस् । शेरबहादुर देउवाजी प्रधानमन्त्रीमात्र होइन, सरकारको नेता हुनुहोस् ।’

उहाँले राष्ट्रियता, देशको विकास, जनताका हितका पक्षमा नेपाली कांग्रेसलाई एमालेले पनि साथ दिने प्रस्ट पार्नुभयो । केही साना दललाई भने कांग्रेसले औँला छोड्ला कि भन्ने चिन्ता लागेर ‘सँगै जानुपर्छ’ भनिरहेको उहाँको भनाइ थियो ।

आफूलाई लक्षित गर्दै प्रचण्ड र माधव नेपालले दिएका अभिव्यक्तिको एकैपटक जवाफ दिँदै ओलीले कांग्रेसले हात समात्न छाड्छ कि भनेर उनीहरू डराइरहेको टिप्पणी गर्नुभएको हो । ‘केही साना दललाई कांग्रेसले हात समात्न छाड्छ कि भन्ने चिन्ता छ, सँगै जानुपर्छ भनेको त्यहि डर हो ।’

उहाँले भन्नुभयो,‘सँगै जान भनेको सरकारमा मात्र होइन चुनावमा पनि । सँगै जाने भनेको सरकारको लागि कि विकास र सम्मृद्धिको लागि ?’ सरकारबाट हट्नुपर्ने हो कि भन्ने कतिपयलाई चिन्ता होला तर एमालेलाई छैन भन्दै उहाँले थप्नुभयो,‘हामी सँगै छैनौ र ? एमाले एक्लै हिड्न रहर गर्दैन र अरुको भरमा राजनीति पनि गर्दैन ।’

Back to top button