रमेश खरेलको नयाँ पार्टी घोषणा

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गर्नुभएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डिआइजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गर्नुभएको हो ।

उहाँले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएर पार्टीलाई अघि बढाउने बताउनुभएको छ । खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताउनुभयो ।

‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौं । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौं, उहाँले भन्नुभयो, राजनीति गर्नेहरुलाई म राजनीतिक पेशाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौं । मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन ।’

उहाँले सबै नागरिकको चासो र आवश्यकतालाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

Back to top button