नेपाली कांग्रेस महाधिवेशनः १० बजेदेखि मनोनयन दर्ता, सभापतिमा ५ जनाको दाबेदारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज विहान १० बजेदेखि मनोनयन दर्ताको समय तोकिएको छ । नयाँ नेतृत्वसहितको पदाधिकारी र केन्द्रीय कमिटी चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनुे भएको हो ।

आवश्यक सबै प्रक्रिया पुरा गरेर २७ गते बिहान ८ बजेदेखि मतदान हुनेछ । कांग्रेसको महाधिवेशन अन्तरगत हिजो उद्घाटन सत्र भएर बन्दसत्र पनि सम्पन्न भइसकेको छ। निर्वाचनबाट कांग्रेसमा १ सय ३४ जनाको पदाधिकारीसहितको केन्द्रीय कमिटी चयन हुनेछ ।कांग्रेसमा पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित ९, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यक बाट १, अपाङ्बाट १ जना सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

सभापतिमा ५ जनाको दावेदारी

नेपाली कांग्रेसको सभापतिका लागि ५ जनाको दावेदारी रहेको छ । सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दिने निश्चित छ भने विमलेन्द्र निधिले पनि उम्मेदवारी दिने हुनुभएको छ ।

यस्तै रामचन्द्र पौडेल पक्षले भने हालसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन । पौडेल समूह आज पनि एक पटक छलफलमा बसेर सहमतिको प्रयास गर्ने बताइएको छ । उक्त समूहबाट पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा दाबी गर्दै आउनुभएको छ ।

Back to top button