झापामा बस र भ्यान ठोकिँदा एकजनाको मृत्यु, ६ जना घाइते

बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिका–३ स्थित लक्ष्मीपुर –राजगढ सडक खण्डमा बस र मारुती भ्यान एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी पाँचजना घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो । घाइतेमध्ये भ्यान चालक बाह्रदशी गाउँपालिका–१ निवासी ३४ वर्षीय मिलन भन्ने प्रमोदचन्द्र उप्रेतीको उपचारको क्रममा मृत्यु भएको हो ।

बिहान ७ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र–१–०१–००१ ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ मारुती भ्यान एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी भ्यानमा सवार ६ जना घाइते भएका छन् ।

दुर्घटनामा बाह्रदशी–१ का ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ का १२ वर्षीय विशाल पौडेल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेकोले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। बिहान लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

Back to top button