माओवादी केन्द्र प्रदेश १ अधिवेशनः विराटचौकमा सुरु

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रदेश १ को प्रथम अधिवेशन मोरङ विराटचौकमा सुरु भएको छ।

प्रदेशभरीका झण्डै १५ सय प्रतिनिधि सहभागी भएको अधिवेशनमा माओवादीले देशभरका ७ वटा भूगोल प्रदेश समिति र २ वटा एशोसियट प्रदेश समितिको अधिवेशन आज एकैदिन गर्न लागेको हो।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ भने आगामी कार्यदिशाबारे बहस गर्दै निष्कर्ष निकाल्ने पार्टीले जनाएको छ। प्रदेश १ समिति २ सय ५९ सदस्यीय हुनेछ भने उक्त समितिले पदाधिकारी चयन गर्नेछ।

प्रदेश १ माओवादीको अध्यक्षका लागि सुरेसकुमार राई हिमाल, हेमराज भण्डारी र ईन्द्रबहादुर आङ्बो लगायतले आकांक्षा राखेको जनाइएको छ।

प्रदेश अधिवेशनबाट पार्टीको विधानअनुसार ९ जना पदाधिकारी चयन हुनेछ। जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन्।

पार्टी विधानअनुसार अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकारसम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ।

Back to top button