
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा सहित नेपाली कांग्रेसका नेताहरु डा. शेखर कोइराला, विमलेन्द्र निधि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ ।
महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा नेताहरूले आ–आफ्नै टिम र प्यानल बनाउनुभएको छ ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रियसभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता भएको हो। मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि भोली दिउँसो १ बजे सम्मको समय तोकिएको छ।
भोली अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान सुरु हुनेछ। नेपाली कांग्रेसको विधानअनुसार १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १ सय ३४ जनालाई निर्वाचित गर्नेछ।
सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुनेछ। केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा छ। सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । ७७ जिल्ला, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधि छानिएर आएका छन् ।