नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति सहित केन्द्रीय नेतृत्वका लागि आज मतदान हुँदैछ ।

बिहान ८ बजेदेखि मतदान शुरू हुने निर्वाचन समितिले जनाएको छ ।

पार्टीको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ ।प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान गुरुङ र कल्याण गुरुङले सभापतिका लागि उम्मेदवारी दिनुभएको छ ।

सभापतिका लागि उम्मेदवारी दिनुभएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनु भएको छ । उहाँले उम्मेदवारी फिर्ता लिदैं शेखर कोइराला प्यानललाई सहयोग गर्ने बताउनु भएको छ ।

कांग्रेस विधानमा एक सभापति, दुई उपसभापति, दुई जना महामन्त्री, आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारी निर्वाचनमार्फत चयन हुने व्यवस्था छ ।

निर्वाचन समितिका अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै केन्द्रीय सदस्य खुलातर्फ ३५ सिटका लागि ९९, महिलातर्फ ९ सिटका लागि ३० जनाले उम्मेदवारी दिएका छन् ।

आजको मतदानबाट १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुनिनेछन् ।

प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतवार नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

Back to top button