प्रधानमन्त्री देउवा आज नयाँ सरकारी भवनमा सर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज नयाँ सरकारी भवनमा सर्दै हुनुहुन्छ । बालुवाटारमै नयाँ भवन निर्माण कार्य सम्पन्न भएसँगै उहाँ आज सर्न लाग्नुभएको हो ।

यस्तै विशेष वास्तु पूजा गरी नवनिर्मित भवनमा उहाँले स्थानान्तरण गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ। बालुवाटारमा रहेको पुरानो संरचनालाई भत्काएर दुईवटा भवन निर्माण गरिएको छ ।

एउटा भवन प्रधानमन्त्रीको निजी निवासका लागि र अर्को सार्वजनिक भवनका रूपमा निर्माण गरिएको हो। अत्याधुनिक सेवा सुविधा भएको निजी निवासमा सुरक्षाको दृष्टिकोणले बंकरसमेत निर्माण गरिएको छ ।

निजी निवास भवन निर्माण सम्पन्न भइसकेको छ भने सार्वजनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ । दुवै भवन तीन/तीन तलाका छन् भने दुईवटै भवनमा लिफ्ट प्रणाली जडान गरिएको छ ।

पञ्चायतकालमा निर्माण गरिएको अहिलेको प्रधानमन्त्री निवासमा भूकम्पले क्षति पु¥याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले नयाँ भवन निर्माण गर्नुपरेको बताइएको छ ।

एक रोपनी क्षेत्रफलमा फैलिएको भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० वटा युनिट निर्माण गरिएका छन् । मन्त्रिपरिषद्को आकस्मिक बैठक कक्ष, सञ्चार केन्द्रलगायतका १४ युनिट निर्माण भइरहेका छन् ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ भदौ १२ गते निर्माण सम्झौता भएको यस भवनको लागत ४० करोड रुपियाँ रहेको छ ।

Back to top button