टोनी हागनको ‘नेपालमा मेरो खोज यात्रा’ पुस्तक नेपाली भाषामा प्रकाशित

काठमाडौं । भूगर्भविद् तथा अनुसन्धानकर्ता टोनी हागनको पुस्तक ‘बिल्डिङ ब्रिजेज टु द थर्ड वल्र्ड’ लाई अब नेपाली भाषमा समेत पढ्न पाइने भएको छ ।

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत हिजो पुस्तकको नेपाली संस्करण ‘नेपालमा मेरो खोजी यात्रा’ सार्वजनिक गरिएको हो । हिमाल पुस्तकले प्रकाशित गरेको उक्त पुस्तकलाई टोनी हागनकी छोरी डा.क्याट्रिना हागन र टोनी हागन फाउन्डेसन नेपालका अध्यक्ष प्राडा प्रमोदकुमार झाले संयुक्त रुपमा लोकर्पण गर्नुभयो।

यस्तै पुस्तकलाई किम्फका प्रमुख समेत रहेका हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले अनुवाद गर्नुभएको हो । पुस्तक लोकार्पण गर्दै हागनकी सुपुत्री क्याट्रिनाले नेपालमा देखिएको प्राकृतिक, सामाजिक र धार्मिक विविधताको चर्चा पनि गर्नुभयो ।

विश्वभर इस्लाम अतिवाद मौलाइरहेको बेलामा नेपाल हरेक कुरामा सहिष्णु रहेको बताउनुभयो । ‘नेपाल सबैजात र सबै धर्मको लागि खुला हुनुपर्छ’ उहाँले भन्नुभयो ।

त्यस्तै अनुवादक थापाले पुस्तकको मर्मअनुसार अनुवाद गरेको बताउनुभयो । ‘ट्रान्सलेट साह्रै कठिन काम हो । बरु मौलिकतामा लेख्न सजिलो हुन्छ । अनुवाद लिकमा चल्ने रेल रहेछ’ उहाँले भन्नुभयो ।

नेपालसहित विश्वका अन्य विकासशील मुलुकहरुमा चार दशकभन्दा बढी समय विशेषज्ञको रुपमा काम गरेका हागनले यसमा नेपाल घुमघाम गर्दा भेटिएका रोचक दृश्य, तथ्य र क्षणलाई उल्लेख गर्नुभएको छ । हागन पहिलोपटक भूगर्भविद्को रुपमा सन् १९५० मा नेपाल आउनुभएको थियो ।

सरकारको अनुमतिबिना विदेशीले काठमाडौं बाहिर यात्रा गर्न नपाउने त्यस्तो बेलामा स्वीस टोलीको सदस्य भएको नाताले हागनले त्यतिबेला नेपालको गाउँ घुम्न पाउनुभएको थियो ।

Back to top button