सभापतिमा कसैलाई पुगेन बहुमत, दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा पहिलो चरणमा कसैले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएको छ ।

आज बिहान सम्पन्न मतगणनामा पहिलो चरणमा कसैले आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले २२५८ मत प्राप्त गर्नु भएको छ ।

सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले १७२९ मत ल्याउनु भएको छ । त्यस्तै प्रकाशमान सिंहले ३६० विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत प्राप्त गर्नुभयो ।

अब धेरै मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणका लागि हुने समीकरणले नतिजामा प्रभाव पार्नेछ । दोस्रो चरणमा गए देउवाविरुद्ध मोर्चाबन्दी गर्ने निधिले बताइसक्नु भएको छ ।

संस्थापनइतर समूहका उम्मेदवार सिंह र निधिले समर्थन गरेमा शेखरलाई सहज हुने देखिन्छ ।

सोमवार मध्यरातसम्म चलेको मतदानमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए । सभापतिको टुंगो लागेपछि मात्र अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुनेछ ।

Back to top button