संसद्‍का चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । संघीय संसदका चारजना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज संसद् बैठक बस्नुअघि ​सांसद, कर्मचारी तथा सुरक्षाकर्मी गरी अहिलेसम्म ६ सय ४० जनामा गरिएको परीक्षणमा ४ जना कर्मचारीमा पोजेटिभ आएको परीक्षण टिम संयोजक भोला अधिकारीले बताउनुभयो ।

करिब ९०० जनाको कोभिड परीक्षण गर्न भन्दै पत्र इडिसीमा आएकोले त्यहीअनुसार परीक्षण गरिएको बताउनुभएको छ । उहाँका अनुसार संक्रमण पुष्टि भएका सबैजना कोरोनाविरुद्धको पूर्ण खोप लगाएका रहेको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो सबै संक्रमितमा कोरोनाको लक्षण सामान्य रहेको छ ।

यस्तै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट परिचालन भएको स्वास्थ्यकर्मीहरूको टोलीले आज पनि एन्टीजेन विधिबाट कोभिड परीक्षण गरिरहेको छ।

आज दिउँसो चार बजेबाट सुरु हुने संघीय संसद्‌को बैठकलाई लक्षित गरी सरकारले सांसद, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक तथा अन्य सुरक्षाकर्मीहरूको कोरोना परीक्षण थालिएको हो।

त्यस्तै परीक्षणका लागि अन्य पार्टीका सांसद कर्मचारीहरू आइरहेको भए पनि हालसम्म कांग्रेस तर्फका सांसदहरू भने उपस्थित नभएको बताउनुभयो । यसअघि संघीय संसद् सचिवालयले भोलिदेखि सुरु हुने बैठकका लागि कोभिड परीक्षण गराउन सूचना जारी गरेको थियो।

परीक्षणका लागि सभामुख सहित अन्य पार्टीका सांसद आए पनि कांग्रेस तर्फका सांसदहरूको उपस्थित एकदमै कम रहेको उहाँले बताउनुभयो ।

Back to top button