
काठमाडौं । आजबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशन पुस ६ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख अग्नि सापकोटाले संसद्को अर्को बैठक पुस ६ गते सम्मका लागि स्थगित गर्नुभएको हो ।
सभामुखको कार्यशैलीप्रति असन्तुष्ट रहेको एमालेले सुरुमै नाराबाजीसहित बैठक अवरुद्ध गर्न खोजे पनि सभामुखले बैठकको कारबाही प्रक्रिया अघि बढाउनुभएको थियो । एमालेका सांसदहरूले उभिएर विरोध गरेका थिए । यद्यपी विरोधकाबीच सरकारले संसदमा विभिन्न ६ वटा अध्यादेश संसद् बैठकमा पेस गरेको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरेका हुन्।