
काठमाडौं । पुस २ गते प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म चपली हाइट ३ को प्रदर्शन मिति सरेको छ। फिल्मका निर्माता अर्जुन कुमारले हिजो प्रेस विज्ञप्ति जारी गर्दै फिल्म तोकिएको समयमा प्रदर्शन हुन नसकेको जनाउनुभएको हो ।
अब फिल्म ल्होसार तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १५ मा प्रदर्शनमा आउने पनि विज्ञप्तिमा उल्लेख छ। यसअघि ०७६ सालको चैतमै प्रदर्शनमा आउन लागेको यो फिल्म कोरोनाका कारण रोकिएको थियो। फिल्म प्रदर्शनको लागि अनुकूल समय पर्खँदै गर्दा चपली हाइट ३ पुस २ मा प्रदर्शन गर्ने तय भएको थियो।
त्यहि मितीमा तेलुगु फिल्म पुष्पाुको हिन्दी संस्करण पनि प्रदर्शन हुने भएपछि चपली हाइट निर्माता अर्जुनले यसको विरोध गर्दै आउनुभएको थियो । नेपाली फिल्म उद्योगको अवस्था दयनीय रहेको र यो विषम परिस्थितिमा नेपाली फिल्मलाई बढी प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
निकेश खड्काको निर्देशनमा निर्मित सस्पेन्स थ्रिलर फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापा, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठलगायत कलाकारको मुख्य भूमिका छ।