चोरी भएका मोटरसाइकल धनीलाई फिर्ता

सर्लाही । सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयले विभिन्न स्थानबाट हराएकामध्ये ६ वटा मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

हस्तान्तरण गरिएका सबै पल्सर मोटरसाइकल हुन्। २२० सीसीका चार थान, २०० र १५० सीसीका एक–एक थान मोटरसाइकल बरामद गरेर सम्बन्धित धनीलाई बुझाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । विभिन्न स्थानमा प्रहरीले नियमित चेकजाँचमा क्रममा चालकले छाडेर गएका मोटरसाइकल बरामद भएका हुन्।

चेकचाँज गर्दा चालकहरू कागजात लिएर आउँछु भनी गएका र पछि फर्किएर नआएपछि अनुसन्धान गर्दै जाँदा चोरीको मोटरसाइकल रहेको खुलेको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । मोटरसाइकल धनीको पहिचान गरेर आज सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईको उपस्थितिमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममै इलाका प्रहरी कार्यालय हरिवनअन्तर्गतमा शान्ति सुरक्षाको अवस्थाबारे सरोकारवालासँग अन्तरसंवाद गरिएको छ।

अन्तरसंवादमा जिल्ला प्रहरी प्रमुख प्रसाई, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख सूर्यप्रसाद दाहाल, सशस्त्र प्रहरी बल हरिवन बेस क्याम्पका डीएसपी दीपेन्द्र थापा, हरिवन नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष र अन्य सरोकारावालाको उपस्थिति रहेको थियो । सहभागीले बढ्दो सडक दुर्घटना न्यूनीकरण, लागुऔषधको तस्करी तथा सेवन नियन्त्रण लगायतका विषयमा प्रहरीलाई सुझाव दिएका छन्।

यसैबीच सवारी दुर्घटना न्यूनीकरण गर्न साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको आयोजनामा आज पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी र हरिवनमा विभिन्न सचेतनामूलक प्ले कार्डसहित र्‍याली निकालिएको छ।

Back to top button