
विराटनगर । मोरङको केराबारी गाउँपालिकामा जङ्गली हात्तीले आक्रमण गर्दा तीनजना घाइते भएका छन्।
केराबारी गाउपालिका– ९ देविझोडाका वडा सदस्य नरबहादुर मगरले गएराति हात्तीको आक्रमणबाट ५ महिने बालकसहित तीन जना घाइते भएको जानकारी दिनुभयो ।
यस्तै हात्तीको आक्रमणबाट घाइते हुनेमा स्थानीय २२ वर्षीया अस्मिता राई उहाँकै ५ महिने छोरा क्यालबिन राई र १७ वर्षीया प्रतिमा लिम्बू घाइते भएको मगरले बताउनुभयो ।
उहाँका अनुसार घाइतेमध्ये प्रतिमाको अवस्था गम्भीर रहेको छ। उहाँको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आईसीयू राखी उपचार भइरहेको छ। घाइतेद्वय अस्मिता र क्यालबिनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
अस्मिताको देब्रे खुट्टा र करङमा चोट लागेको चिकित्सकले जानकारी दिएका छन्। वडा सदस्य मगरले दुइटाको संख्यामा आएका हात्तीले गाउँमा क्षति पुराएको बताउनुभयो । स्थानीय र प्रहरीले हात्ती धपाइसकेका छन्।
गाउँमा ५ घण्टासम्म उपद्रो मच्चाएका हात्ती स्थानीय र प्रहरीले लखेटेपछि पश्चिमतर्फको जङ्गलमा लागेको बताइएको छ।