एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्‍यो : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले नेकपा (एमाले)ले देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाउनुभएको छ ।

नेता पौडेलले आज बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने एमालेको क्रियाकलाप आपत्तिजनक रहेकाले त्यसतर्फ सचेत रहन नागरिकको ध्यानाकर्षण गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ , ‘६ महिनाको समयमा दुई–दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन्।’

नेता पौडेलले सरकारले पनि देशलाई लोकतान्त्रिक गति दिन नसकेको टिप्पणी गर्नुभएको छ । ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामु सर्मपर्ण गरेको ठहर्नेछ।’

यस्तै,उहाँले देशलाई प्रयोगको थलो बनाएर थिलथिलो बनाएर समावेशी संसदीय प्रणाली सिध्याउने षड्यन्त्र पनि भइरहेको बताउनुभएको छ । ‘देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो‚’ उहाँले लेख्नुभएको छ, ‘समावेशी संसदीय प्रणालीनै सिध्याउन खोजिएको देखिन्छ।’

Back to top button