एक बेला प्रचण्ड र ज्ञानेन्द्र शाहबिच ५ बुँदे सहमित भएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ५ बुँदे सहमति गरेको दाबी गर्नुभएको छ ।

आज मनोनित भएका कन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै उहाँले प्रचण्ड र ज्ञानेन्द्रबिचमा सहमति भएर उपद्रो भएको भन्दै के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुपर्ने बताउनुभयो ।

१९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेका बेला भएको सहमतिपछि माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको स्मरण गर्नुभएको छ ।

अध्यक्ष ओलीले प्रश्न गर्दै भन्नुभयो, ‘त्यही सहमतिपछि अभिनन्दन कार्यक्रम चलाइयो । हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलुमखुल्ला जान सक्ने कसरी भयो ?’ ओलीले सेयर कारोबारीले चन्दा नदिएकाले प्रचण्डले सेयरबजारबारे टिप्पणी गरेको आरोप समेत लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुन सेयर कारोबारीले चन्दा दिएन छन्, अनि त्यसविरुद्ध बोले । न रहे बाँस, नबजे बाँसुरी ।’ ‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए ।

प्रचण्डले त्योभन्दा बढ्ता जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिएको टीप्पणी गर्दै ओलीले भन्नुभयो,‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन।’

यस्तै अध्यक्ष ओलीले नेपाली कांग्रेसप्रति लक्षित गर्दै जहिले पनि नेपाली कांग्रेसले गलत तत्वसँग साँठगाँठ गरेको आरोप लगाउनुभयो । उहाँले नेपाली कांग्रेसलाई प्रतिगामीहरूसँग साँठगाँठ गर्ने काम छोड्न समेत सुझाव दिनुभयो ।

Back to top button