सरकारी नीतिले अफ्ठ्यारो भए सच्याउन तयार छौंः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको बताउनुभएको छ ।

महिनौँदेखि तरलता अभावका कारण बैंकले लगानी गर्न नसकी निक्षेप सङ्कलनलाई प्राथमिकता दिइरहेका बेला उहाँले कानुनले वित्तीय बजारमा समस्या परेको भए सच्याउन तयार रहेको बताउनुभएको हो ।

नेपाल उद्योग वणिज्य महासंघद्वारा राजधानीमा आयोजित ‘नवउत्थान सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले यस्तो आश्वासन दिनुभएको हो । पोष्ट–कोभिडको बदलिँदो परिस्थितिमा तीव्र र दीगो आर्थिक वृद्धि कसरी गर्न सकिन्छ भनेर महासंघले आज बहस चलाएको हो।

सम्मेलनबाट आएको निष्कर्ष कार्यान्वयनका लागि सरकारमा समेत बुझाइने महासंघले जनाएको छ। अर्थमन्त्री शर्माले विस्तारै आर्थिक क्षेत्र चलायमान हुँदै गएको भन्दै अझै ठूलो प्रभाव पर्नसक्ने अवस्थालाई समेत मध्यनजर गरी मुलुकको अर्थतन्त्र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

स्रोत र श्रमसमेतलाई ध्यानमा राखेर अर्थतन्त्रलाई एउटा लयमा पुर्‍याउनुपर्ने तर्क गर्दै अर्थमन्त्री शर्माले वश्यकता, क्षमता र सम्भव प्रतिष्पर्धात्मक क्षेत्रको पहिचान गरी लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

सबैमा प्रतिष्पर्धा गर्न सकिन्न, स्वयं आत्मनिर्भर र प्रतिष्पर्धामा जानसक्ने क्षेत्र कुन–कुन हुन् त्यसलाई ध्ययन गरेर लगानी वृद्धि गर्ने कुरा आजको आवश्यकता रहेको बताउनुभयो ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लगानी वृद्धि गर्ने र व्यवसायलाई आकर्षित हुने गरी राज्यको नीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विस्तारै अर्थतन्त्रमा केही सकारात्मक प्रभाव शुरु भए पनि कोभिड–१९ को त्रास कायमै रहेकाले आर्थिक क्षेत्रमा सरकारको सहयोगको खाँचो रहेको बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी बढाउने गरी नीति निर्माण भए आन्तरिक लगानी बढ्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनको पहिलो सत्रमा तरलता व्यवस्थापन, दोस्रो सत्रमा लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन, र तेस्रो सत्रमा निर्यात प्रवर्द्धनका विषयमा विषय विज्ञ र आर्थिक क्षेत्रका प्रतिनिधिबीच समूहगत छलफल गरी निष्कर्ष निकालिनेछ।

Back to top button