सुटिङका क्रममा नायक रितेश चाम्स घाइते

काठमाडौं । फिल्म ‘गोर्खा वारियर–२’ सुटिङका क्रममा अभिनेता रितेश चाम्स घाइते हुनुभएको छ । फिल्मका लागि एक दृश्यको छायांकन भइरहेका बेला उहाँ भीरबाट लडेर घाइते हुनुभएको हो ।

घाइते रितेशको सिन्धुली बजारस्थित सिन्धुली पोलिक्लिनकमा उपचार भइरहेको फिल्मका निर्माता एवम् निर्देशक मिलन चाम्सले जानकारी दिनुभएको छ । नायक रितेशको घाँटी र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

बिहान सिन्धुलीको कमलामाई क्षेत्रमा रितेश भीरबाट झर्दै तल गहिरोमा पुगेर विपक्षीलाई आक्रमण गर्नुपर्ने दृष्यको छायाङ्कन गर्दै हुनुहुन्थ्यो । त्यस क्रममा शरीरको सन्तुलन नमिल्दा भीरबाट खसेर रुखमा ठोकिँदै जमिनमा बजारिनुभएको थियो ।

दुर्घटनाका कारण रितेशलाई १० दिन पूर्ण आराम गर्न चिकित्सकले सुझाव दिएका छन् । रितेस घाइते भएपछि उहाँको पाटो रोकेर निर्देशक चाम्सले अन्य पाटोको छायाङ्कन गरिएको छ । ‘गोर्खा वारियर–२’ को छायाङ्कन सिन्धुलीबाट ९ मंसिरदेखि सुरु भएको थियो ।

फिल्ममा रितेश चाम्ससँगै, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसीलगायतका कलाकारको अभिनय रहने छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा बन्न लागेको फिल्म सन् २०२२ मा भित्र रिलिज हुने बताइएको छ ।

Back to top button