नेपालमा बामपन्थी पार्टी जति अरु लोकप्रिय छैनन्ः माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा वामपन्थी पार्टी जति अरु पार्टी लोकप्रिय नभएको बताउनुभएको छ ।

पार्टीको बागमती प्रदेश कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले नेपालमा फुटेर जाँदा पनि वामपन्थी पार्टी नै निर्माण गरिरहेको बताउनुभयो ।

उहाँले आफूहरू वामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गर्नुभयो । पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशभरमा आफ्नो पार्टीमा नागरिकको आकर्षण बढिरहेको भन्दै विभिन्न जिल्लामा पार्टी र सङ्गठन विस्तारका क्रममा ठूलै परिवर्तन आइरहेको दावी गर्नुभयो ।

वडा तहसम्म कमिटी बनाउन र पार्टीलाई गतिशील बनाउन निर्देशन दिँदै उहाँले भन्नुभयो,‘अरू पार्टीभन्दा कसरी भिन्न पार्टी बनाउने भन्नेमा हाम्रो ध्यान पुग्नुपर्छ।’ यस्तै उहाँले वर्तमान सत्ता गठबन्धनलाई कायम राख्नेमा कांग्रेसका सवै नेता सहमत रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो,‘शेरबहादुर देउवा मात्रै होइन काङ्ग्रेसका अरू नेता पनि गठबन्धनलाई अघि बढाउनुपर्ने मान्यता राख्नुहुन्छ।’

Back to top button