
काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुखले पहल नगरेको कारण संसदको अवरोध लम्बिएको बताउनु भएको छ ।
माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले २३ भदौ २०७८ देखि संघीय संसदमा नाराबाजी गर्दै आएको छ ।
अघिल्लो अधिवेशन पुरै संसदको काम कारबाहीमा भाग नलिएको एमालेले हिजोदेखि शुरु भएको हिउँदे अधिवेशनमा पनि अवरोध र नाराबाजीलाई निरन्तरता दिएको छ ।
यहि विषयमा संसदीय दलका उपनेता नेम्वाङले माग सम्बोधन नभएसम्म अवरोध जारी रहने बताउनुभएको छ । सभामुखले अब पनि एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको भनी सूचना टाँस गर्न सक्ने नेम्वाङको भनाइ छ ।
नेम्वाङका अनुसार साउन २५ मा एमालेले संसद पद खोसुवासहित पार्टीबाट निस्कासन गरेका माधव नेपाल सहितका १४ जना सांसदको पद खारेज नभएसम्म संसद अवरोध जारी रहनेछ ।