निर्वाचन परिणाम पछि देउवा हामी सबैको सभापतिः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले अब शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताउनुभएको छ ।

महाधिवेशन अघि अलग विचार समूहबाट आफूहरु प्रत्यासी रहेको र प्रतिस्पर्धा गरेपनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेको उहाँले बताउनुभयो ।

नेता थापाले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएकोमा खुशी ब्यक्त गर्दै आफूहरुले पनि लोकतान्त्रिक अभ्यास खोजेको बताउनुभयो । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सभापति पदका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा पाँच घण्टासम्म बसेर मतदातासँग भोट मागेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो,‘एमालेको महाधिवेशनमा पूर्वप्रधानमन्त्री एउटा होटलमा सानले बसेको भन्दै कांग्रेस महाधिवेशनमा बहालवाला प्रधानमन्त्री पनि सडकमा भोट माग्न आउनुपर्‍यो ।’

दुवै चरणमा भएको निर्वाचनमा आफूले देउवालाई भोट नदिएको जानकारी दिँदै गगनले भन्नुभयो, ‘तर अब देउवा हामी सबैको सभापति हो । पार्टीको हितमा काम गर्नुभयो भने हाम्रो सहकार्य उहाँसँग हुन्छ । उहाँ जहाँ चुक्नुहुन्छ, उहाँसँग हाम्रो संघर्ष हुन्छ ।’

Back to top button