नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठकमा युवाहरुको बहिस्कार

विराटनगर । नेकपा एमाले मोरङको आज बसेको जिल्ला कमिटी बैठकलाई युवा नेताहरुले बहिस्कार गरेका छन् ।

जिल्ला अधिवेशनको मिति तय भइसकेका बेला पदाधिकारीहरु टुङ्ग्याउन लागेपछि पदाधिकारीमा आकांक्षा राख्ने युवा नेताहरुले बैठक बहिस्कार गर्दै हिड्नुभएको छ ।

जिल्ला कमिटीको सचिवको आकांक्षी रबिन थापा र उपसचिवका आकांक्षी सन्तोष बान्तवालगायतका नेताहरुले बैठक छाडेर हिड्नुभएको हो । बैठक बहिस्कारपछि जिल्ला कमिटी सदस्य रबिन थापाले नेतृत्वले मनोमानी ढंगले पदाधिकारी टुङ्ग्याउन खोजेपछि असहमति जनाउँदै बहिस्कार गरेको बताउनुभयो ।

युवा संघका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका थापाले नेताहरुले सवै क्षेत्र, भूगोल समेट्दै नयाँ साथीहरुलाई समेट्न भन्दा पनि आफ्ना ‘यसम्यान’ हरुलाई मात्र च्याप्ने गरेपछि बहिस्कार गर्नुको बिकल्प नभएको बताउनुभयो । ‘नेतृत्वले युवा पुस्ताले पार्टीका लागि गरेको योगदानलाई अवमूल्यन गरेको महशुष भएको छ’, उहाँले भन्नुभयो, ‘हिजो नेताहरु सडकमा उत्रिन नसक्दा युवा पुस्ताले सडकमा निस्कनसक्ने वातावरण बनाएको भूमिकाको समेत मूल्याङ्कन भएन ।

यस्तै जिल्ला कमिटी सदस्य सन्तोष बान्तवाले समेत नेतृत्वको २२ दिनका लागि पदाधिकारी चयन गर्ने तयारीप्रति असन्तुष्टि ब्यक्त गर्नुभयो । उपसचिवको आकांक्षी रहनुभएका वान्तवाले आफूहरुको कुरा सुनुवाई नहुने देखेपछि बैठक छाडेर घर तिर हिडेको बताउनुभयो ।

यस्तै जिल्ला कमिटीले अधिवेशनको मिति तोकिएको बेला २२ दिनका लागि पदाधिकारी चयन गर्नै पर्ने के आइलाग्यो भन्दै प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेतले यसको जवाफ १७ वटै स्थानीय तहका साथीहरुसँग पनि मागिने बताउनुभयो ।

Back to top button