सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने तयारी गर्नुभएको छ । बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको हो ।

बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेताबिच सहमति भएको छ ।

छलफल अनुसार नै प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको अर्को बैठक पुस ६ अघि नै आइतबार वा सोमबार बोलाउने तयारी गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भदौ तेस्रो सातादेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमालेले सभामुखको पक्षपातपूर्ण व्यवहारका कारण सदन अवरुद्ध गर्नुपरेको जनाउँदै आएको छ ।

यस्तै एमसीसी संसदमा पेश गर्ने सरकारको तयारी छ । तर सत्तारुढ गठबन्धनमै एमसीसी संसदमा पेश गर्ने या नगर्ने भन्नेमा मतक्यैता छैन । खासगरी माओवादी केन्द्रले सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताउँदै आएको छ । तर, प्रधानमन्त्री देउवालाई एमसीसी अघि बढाउन दवाव छ ।

Back to top button